काठमाडौं, २७ असार। अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसमेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अजेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधिसमेत हो ।त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।
तर यस पटक भने अर्जेन्टिनाले हारको यात्रालाई ब्रेक लगायो । त्यसका लागि ब्राजिललाई घरमै पराजित गर्यो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनल पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो ।
यस्तै मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा अन्ततस् पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।
मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेस्सीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्टसमेत गरे ।
मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु(२३ टिमले खेल्ने प्रतियोगिता थियो ।
ब्राजिललाई उसैको मैदानमा हराउन अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे । यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए । जसमा उनले न्याए पनि गरे ।
रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा डि मारियाले २२औं मिनेटमा गोल गरेका थिए ।
त्यही गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले उपाधि खडेरी तोडेको हो ।