स्याङ्जा १९ बैशाख । घर भवन निर्माण मजदूर समिति पुतलीबजारले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस बिबिध कार्यक्रम सहित मनाएको छ । बाजागाजा सहित पुतलीबजारका बजार क्षेत्र परिक्रमा गर्दे पुतलीबजार नगरपालिका ३ मजुवा स्थित गुरुङ समाजको भवनमा कार्यक्रम गरेको हो ।
कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले मजदूर तथा श्रमजीवी वर्गको एकताको लागि हरेक वर्ष आजकै दिन श्रमिक दिवस मनाइने बताउनुभयो । कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदुरका अधिकार र अवसर सुनिश्चित गर्न साझा संकल्पका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
हरेक राजनीतिक परिवर्तन तथा नेपाली समाजको परिवर्तनका निमित्त श्रमिक मजदुर वर्गको योगदान एवं बलिदान रहेको जनाउदै श्रमिक बर्गसंग हातेमाले गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सदस्य नवराज सुवेदी, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, वडा सदस्य बिष्णुप्रसाद श्रेष्ठ लगायलते मजदूरका हक, हित र अधिकारका लागि एकजुट हुनु पर्नेमा जोड दिनुभयो । घर भवन निर्माण मजदूर समिति पुतलीबजारका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सरोज थापाले गर्नुभएको थियो ।