स्याङ्जा ९ जेठ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा किशोरीहरुका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले तालिमले सहभागी किशोरीलाई आत्मरक्षाका बारेमा सिकेका ब्यवहारिक तथा सैद्धान्तिक कुरालाई आफना दिदीवहीनी र साथीहरुलाई पनि सिकाउन सुझाव दिनुभयो ।
जो सुकै ब्यक्तिबाट पनि हुने साना देखि ठूलासम्मका हिंसामा सुन्य सहनशिलता अपनाउन भन्दै हिंसा तथा अन्य अश्वाभाविक कुरालाई नलुकाईकन आफना आफन्त तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्माले जीवनको अत्यन्त महत्वपूर्ण किशोर अवस्थालाई सहि मार्गमा हिडाउनु पर्ने बताउनुभयो । सकारात्मक सोच र सकारात्मक कार्यले मात्र जीवन सार्थक बन्ने उहाको भनाई छ । सामाजिक सदभाव कायम राख्न हत्या, हिंसा र आपराधिक घटनालाई न्यूनिकरणमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक प्रेम पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सरस्वती माध्यमिक बिद्यालयका छात्रा अदिती गोदार लगायतले तालिमको आवश्यकता र प्रभावकारिताका बारेमा जानकारी गराउदै आफुले सिकेका ज्ञानलाई अरुलाई पनि सिकाउन आग्रह गर्नुभयो ।
त्रिभुवन आर्दश माध्यमिक बिद्यालयमा संचालित तालिममा ब्यवहारिक एवं सैद्धान्तिक तालिम प्रदान गरिएको छ । तालिममा प्रहरी उपरिक्षक शालिकराम शर्मा, सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द्र रेग्मीले आत्मरक्षा सम्बन्धी सैद्धान्तिक प्रशिक्षण एवं सहायक प्रहरी हवल्दार द्धय तासवीन पुन मगर र सुशिल पुनले आत्मरक्षा सम्बन्धी ब्यवहारिक प्रशिक्षण दिनुभएको छ ।
सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नायब सुब्बा द्रोर्णप्रसाद पनेरुले गर्नुभएको थियो । तालिममा पुतलीबजारका ९ वटा सामुदायिक बिद्यालयका ५० जना छात्रा तथा किशोरीहरुको सहभागिता थियो ।