स्याङ्जा २५ साउन । वालिङमा सञ्चालित किचन सहयोगी (कमी) तेस्रो तालिममा सहभागि युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
श्रम,राजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजना तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर,सिटुटेकको आयोजनामा तालिम सञ्चालन भएको हो ।
तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सिप अहिलेको समयमा अपरिहार्य पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो,“सिप सिकेर गरेको जुनसुकै काममा सफलता मिल्छ,आम्दानी पनि राम्रो हुन्छ ।”विदेशको लागि सिप सिकेर जानु अति आवश्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रेस युनियन स्याङ्जाका निर्वत्मान अध्यक्ष प्रदिप कोईरालाले उपयुक्त सिपको अभावमा युवाहरुले स्वदेश तथा विदेशमा दुख पाईरहेको बताउनु भयो ।
तालिममा विदेशबाट फर्किएका ४० जना युवाहरु सहभागि रहेको सिटुटेकका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । तालिम एक महिना सम्म सञ्चालन भएको थियो ।
तालिममा सहभागि युवाहरुले सिपको अभावमा विदेशमा दुख पाएको गुनासो गरेका थिए । सिप भएकाहरुले राम्रो काम गरेको आँखै अगाडि हेरेर बस्नु परेको भन्दै उनीहरुले सबै युवाले उपयुक्त सिप सिक्नु पर्नेमा जोड दिए ।