काठमाण्डौ १ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।
उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारले १ हजार ९०६ मत पाउनुभयो ।
बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार खड्का र शेखर कोइराला प्यानलका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ । देउवा पक्षका उम्मेदवार गच्छदार भने दुई मतले पछि पर्दे पराजित हुनुभयो ।
यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाउनु भयो ।
सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो ।