स्याङ्जा २६ कात्तिक । करदाता सेवा कार्यालय,पुतलीबजार स्याङ्जाले कर सप्ताहको अवसरमा सचेतनामूलक सट भिडियो प्रतियोगिता आयोजना गरेको छ। मंसिर १ गतेदेखि ७ गतेसम्म मनाइने कर सप्ताहको उपलक्ष्यमा कर सचेतनामूलक सर्ट भिडियो प्रतियोगिता आयोजना गरिएको करदाता सेवा कार्यालय, पुतलीबजार स्याङ्जाका कार्यालय प्रमुख विजय भुसालले बताउनुभयो ।
टिकटक फेसबुक लगायतका सामाजिक संजालको प्रयोग गरेर समेत भिडियो निर्माण गर्न सकिने छ। भिडियो कर सचेतनामूलक हुनुपर्ने र एक मिनेट भन्दा छोटो हुनुपर्ने छ । भिडियो सामाजिक संजालमा पोष्ट गरिसकेपछि संजालमा आउने प्रतिक्रिया र निर्णायकको निर्णयअनुसार विजेता घोषणा गरिने कर कार्यालयले जनाएको छ ।। कर सचेतामूलक सर्ट भिडियो प्रतियोगितामा प्रथम हुनेले न्युनतम नगद रू ५ हजार र अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने कार्यालय प्रमुख भुसालले बताउनुभयो ।
कर सप्ताहकै अवसरमा कार्यालयले विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ । प्रतियोगिता सहभागी हुन चाहने विद्यार्थीहरूले “देश विकासमा करको भूमिका” शिर्षकमा वक्तृत्वकलाको विषयवस्तु समेटी आफ्नो, विद्यालयको नाम र सम्पर्क नम्बर सहित मंसिर १ गतेभित्र कार्यालयको इमेल ठेगानामा पठाउनुपर्नेछ ।
सहभागीले पठाएको विषयवस्तुको मूल्यांकन गरी उत्कृष्ट १२ जनालाई मंसिर ५ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने प्रतियोगितामा सहभागी हुने मौका दिइने छ । सहभागीले आफ्नो प्रस्तुति ५ मिनेट भित्र सक्नुपर्ने छ भने सहभागीको प्रस्तुतीकरण, विषयवस्तु र सरलतालाई आधार मानेर विजेता घोषणा गरिने कर कार्यालय पुतलीबजारले जनाएको छ।