भीमकुमार बाँस्कोटा
फिदिम, १६ असार । ओलम्पिक एक साझा खेलुकद प्रतियोगिता हो । यस प्रतियोगितामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को सदस्य भएका सबै देशका खेलाडीले समान हैसियतमा सहभागी हुन पाउँछन् ।
ओलम्पिक प्रतियोगिता सुरु भएको एक सय २४ वर्ष पूरा भइसकेको छ । खेलकुदको महाकुम्भ मेलाको रुपमा लिइएको ओलम्पिकमा सभागिता जनाउनु नेपाली खेलाडीका लागि ठूलो उपलब्धिको रुपमा लिइन्छ ।
नेपालले ओलम्पिक खेलमा औपचारिक रुपमा सहभागिता जनाएको पाँच दशक बितेको छ । यद्यपी नेपालको ओलम्पिक सहभागिता सन् १९५२ को हेलेसिन्की ओलम्पिकबाट भएको थियो भनिन्छ । स्वर्गीय कृष्णबहादुर बर्माले लेखेको किताब ‘जापानमा मैले के के पाएँ’नाम पुस्तकमा बर्माले हेलेसिन्की ओलम्पिक खेलको उल्लेख गरेको पाइन्छ । बर्मा एथलेटिक्स खेलाडी थिए ।
लेखक रमेश खनालका अनुसार बर्मा र नरशमसेर जबराले सो ओलम्पिकमा सहभागिता जनाएका थिए । तत्कालिन राजा त्रिभुवनले उनीहरुलाई ओलम्पिक प्रतियोगितामा पठाएका थिए भन्ने गरे पनि यसको आधिकारिकता भने छैन ।
सान् १९६४ मा जापानमा आयोजित गृष्मकालीन ओलम्पिक प्रतियोगितादेखि नेपालले औपचारिक रुपमा भाग लिन थालेको हो । त्यसपछि मेक्सिकोमा आयोजित ओलम्पिक वाहेक नेपालले सबै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । कोरोना महामारीका कारण गत वर्ष जापानमा गरिने पूर्वनिर्धारित ओलम्पिक हुन सकेन । उक्त प्रतियोगिता यस वर्ष सञ्चालन हुँदैछ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवराम श्रेष्ठका अनुसार सान १९६४ को ओलम्पिकमा नेपालले पहिलोपटक औपचारिक रुपमा झण्डा फहराएको हो । ‘त्यसपछिको एउटा ओलम्पिक खेलबाहक सबै प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै आएको छ,’ श्रेष्ठले भने ।
नेपालले सन् १९६८ को ओलम्पिकमा सहभागिता नजनाएको हो । सन् १९७२ देखि हालसम्को ओलम्पिकमा नेपालले लगातार सहभागिता जनाउँदै आएको छ । हिउँदे (विन्टर) ओलम्पिकमा भने नेपालले सन २००२ देखि मात्र सहभागिता जनाउन थालेको हो । हिउँदे र गृष्मकालीन ओलम्पिक गरी १७ संस्करणमा ९१ जना खेलाडीले प्रतिस्पर्धा गरिसकेका छन् ।
सन् १९८८ मा दक्षिण कोरियाको सोल ओलम्पिकको प्रदर्शनी खेलमा समावेश भएको तेक्वान्दोमा नेपालका विधान लामाले कास्य पदक जितेको इतिहास छ । तेक्वान्दो खेल त्यतिबेलासम्म ओलम्पिक खेलमा समावेश नभएकाले लामाले जितेको पदक आधिकारीक हुन सकेन ।
झण्डै एक सय वर्ष पहिले तेजबीर बुरा (बुढा) ले सन् १९२४ को हिउँदे ओलम्पिकमा पदक पाएका थिए । सन् १९२२ को सगमारमाथा आरोहण दलमा समावेश तेजबीरलाई सम्मानस्वरुप ओलम्पिक पदक प्रदान गरिएको थियो । पर्वतारोहीलाई स्वर्ण दिनुपर्ने लबिङ आधुनिक ओलम्पिकका पिता पियारी डे कुबातिरले गरेका थिए । उनी त्यस बखत अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष थिए । उनले उक्त पदक देशका लागि नभइ मानवताका लागि दिएको बताएका थिए ।
सन् १९२४, जनवरी २४ देखि फेब्रुअरी पाँच सम्म भएको पहिलो हिउँदे ओलम्पिकको समापनको अवसरमा गोर्खा सेनाका लेफिटिनेन्ट कर्णेल एडवार्ड स्ट्राउस पर्वतारोहिको मेडल लिन पुगेको उल्लेख छ ।
यद्यपि अन्तर्राष्ट्रिय ओलाम्पिक कमिटीले तेजबीरले पदक पाएको पुष्टि भने गरेको छैन । इंग्ल्यान्डको बिनचेस्टरमा रहेको द गोर्खा म्युजियमले पार्वपारोहीमध्ये तेजबीर बुराले पनि पदक पाएको पुष्टि गरेको छ । लण्डन ओलम्पिक सन् २०१२ को वेभसाइटमा नेपालका तेजबीर बुराले सन् १९२४ मा पदक पाएको उल्लेख गरिएको थियो । ‘वेभसाइटमा भेटिएपछि मात्र तेजबीर बुराले पाएको पदकबारे सार्वजनिक भएको थियो,’एनओसीका अध्यक्ष श्रेष्ठले भने ‘तेजबीरलाई दिएको पदकबारे एनओसीसँग आधिकारीक तथ्यांक छैन ।’
सन् १९६० को रोम ओलम्पिकमा नेपालले एकजना पर्यवेक्षक पठाएको थियो । ओलम्पिक प्रतियोगितामा नेपालको औपचारिक सहभागिता भने सन् १९६४ को टोकियो ओलम्पिकमा भएको थियो । सन् १९६३ मा नेपालमा पहिलोपटक ओलम्पिक ज्योति ल्याइएको थियो । सन् १९६४ को टोकियोमा भएको १८औँ ओलम्पिक खेलमा ६ जना नेपालीले पहिलोपटक सहभागिता जनाएका थिए ।
सन् १९६८ को मेक्सिको ओलम्पिकमा नेपालले सहभागिता जनाएको थिएन । सन् १९७२ मा जर्मनीमा सम्पन्न २० औँ ओलम्पिकमा नेपालबाट धावक जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले भाग लिएका थिए । २१ औँ मोन्ट्रियल ओलम्पिकमा नेपालको तर्फबाट एक्लो सहभागिको रुपमा बैकुष्ठ मानन्धरले सहभागिता जनाएको एनओसीको तथ्यांकमा उल्लेख छ ।
सन् १९८० मा मस्को ओलम्पिकमा एथलेटिक्स, बक्सिङ र भरोत्तोलनमा गरी १२ नेपालीले भाग लिएका थिए । १९८४ को लस एन्जलिस् ओलम्पिकमा एथलेटिक्स, बक्सिङ र भरोत्तोलनमा ११ नेपाली खेलाडीले भाग लिएका थिए ।
यो ओलम्पिकमा बैकुण्ठ मानन्धरको लगातार तेस्रो सहभागिता थियो । उनीसँगै आमिरी यादव, आर्जुन पण्डित म्याराथनमा दौडिए । पुष्पराज ओझा र जोधा गुरुङले चार सय मिटर दौडमा भाग लिएका थिए । बक्सिङतर्फ उमेश मास्के, प्रविण तुलाधर, मनबहादुर श्रेष्ठ र दलबहादुर राना मगरले भाग लिए । भरोत्तोलनमा सुरेन्द्र हमाल र जगदिश प्रधानले राष्ट्रिय किर्तीमान रचेका थिए ।
१९८८ मा सोलमा भएको २४औँ ओलम्पिक नेपालका लागि ऐतिहासिक भयो । ओलम्पिकमा पहिलोपटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको खेल तेक्वान्दोबाट नेपालका बिधान लामाले काश्य पदक जितेर संसारलाई चकित तुल्याए ।
प्रदर्शनी खेलका कारण सो पदक आधिकारीक पदक तालिकामा परेन । सोल ओलम्पिकमा नेपालले एथलेटिक्स, बक्सिङ, सुटिङ, भरोत्तोलन, तेक्वान्दो र जुडो खेलबाट १८ खेलाडीलाई सहभागी गराएको थियो ।
सन् १९९२ को २५ औँ ओलम्पिकमा तेक्वान्दोकामा नारायण गुरुङ र प्रमिला थापाले भाग लिएका थिए । एथलेटिक्समा हरिबहादुर रोकाय र सुटिङमा अनिता श्रेष्ठ गरी पाँच खेलाडीले मात्र भाग लिएका थिए ।
१९९६ को ओलम्पिकमा नेपालबाट जम्मा छ जना खेलाडीले सहभागिता जनाए । एथलेटिक्समा टीका बोगटी र बिमला रानामगर, सुटिङ १० मिटर एयर राइफलतर्फ बिभाश्वरी राइ, भरोत्तोलनबाट सुनिललाल जोशी र पौडीबाट निस्मा गुरुङले सहभागिता जनाएका थिए ।
सन् २००० को २७ औँ सिड्नी ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा सुटिङकी भगवती खत्रीले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् । उनले एसीयाली प्रतियोगितामा ओलम्पिकको वाइल्ड कार्ड दावी गर्न सक्ने एमक्युएस (मिनिमम क्वालिफाइङ स्कोर) गरेपछि कार्ड पाएकी थिइन् ।
सन् २००४ को २८ औँ एथेन्स ओलम्पिकमा नेपालले नयाँ इतिहास रचेको थियो । सो ओलम्पिकमा पहिलोपटक नेपाली खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएको थियो । तेक्वान्दोकी संगीना वैद्यले छनोट चरण पारे गरेकी थिइन् । बैंककमा सम्पन्न एसियाली छनोट चरणमा काश्य पदक जितेर उनले ओलम्पिकको ढोका खोलेकी थिइन् ।
सन् २००८ मा बेइजिङमा सम्पन्न भएको २९औँ ओलम्पिकमा दिपक विष्टले पनि छनोट चरण पारे गरेका थिए । विष्ट ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् । उनले भियतनामा भएको एसियन ओलम्पिक छनोट चरणमा काश्य पदक जितेका थिए । सो खेलमा उनी उत्कृष्ठ खेलाडीको रुपमा पुरस्कृत समेत भएका थिए । बेइजिङमा भएको ओलम्पिकमा चार नेपाली खेलाडीले वाइल्ड कार्ड पाएका थिए । तर, लण्डनमा सन् २०१२ मा भने त्यस्तो मौका एकजना नेपाली खेलाडीले मात्र पाएका थिए ।
सन् २०१२ को लण्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा नेपालले भरोत्तोलनमा सहभागिता जनाउन पाएको थिएन । हालसम्म छनोट पार गरेर ओलम्पिक खेल्ने नेपाली खेलाडी तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट मात्रै हुन् ।
जापानको टोकियोमा भइरहेको ओलम्पिकका लागि नेपाली जुडो खेलाडी सोनिया भट्टले वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यससँगै पौडी, एथलेटिक्स, सुटिङ, तेक्वान्दो र जुडोले सन् २०२० अन्तर्गत ओलम्पिकमा सहभागिता जनाउने भएका छन् । पौडी र एथलेटिक्स अनिवार्य सहभागी हुने भए पनि सुटिङ, तेक्वान्दो र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएका हुन् ।