स्याङ्जा २२ चैत । नेकपा एमाले स्याङ्जाले चैत २३ शुक्रवारबाट हुने ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । दुई दिने (२३ र २४) गतेसम्म संचालित अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने भएको छ ।
नेकपा एमाले अधिवेशन प्रचारप्रसार समितिले अधिवेशन उदघाटनको अघिल्लो दिन (बिहीवार) पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित आफनै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलत तथा अन्र्तक्रिया कार्यक्रमगरि सो का बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज टुकराज सिग्देलले स्याङ्जामा गुटगत प्रतिस्पर्धा नहुने बताउनुभयो । आवधिक निर्वाचनले पार्टी मजबूद र लोकतन्त्रलाई समेत बलियो बनाउने उहाको भनाई छ ।
फरक प्रसंगमा उनले राष्ट्रिय राजनीति उप्काउदै भन्नुभयोे, ‘बर्तमान विसंगती, भ्रष्टाचार र विकृतीलाई सुधार गर्नका लागि नेकपा एमालेले सामान्य मन्त्रालय लिएर फेरि गठबन्धन गरेको छ ।’ सबै पार्टी उस्तै उस्तै हुन भन्ने कुरालाई चिर्दै नेकपा एमाले पृथक पार्टी रहेको दावी गर्दै एमालेको कार्यशैलीलाई मूल्यांकन र अवलोकन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस)ले अधिवेशनले ५ पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने जानकारी दिनुभयो । क्लष्टर अनुसारको निर्वाचन हुने र युवा १५ प्रतिशत रहेको उहाले भन्नुभयो ।
दुई दिने अधिबेशनमा जिल्लका ११ पालिका सहित ९७ वडाका ६०९ जना प्रतिनिधी चयन भएका छन् । तीन प्रतिनिधीमा एक महिला र ११ प्रतिशत उत्पिडीत प्रतिनिधी छनौट गरिएको प्रचार प्रसार समितिका संयोजक विश्व पौडेलले जानकारी दिनुभयो ।
अधिबेशनका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । संगठित सदस्य, पालिकाका प्रतिनिधी, आयोजक कमिटि, शुभेच्छुक तथा शुभचिन्तकबाट आर्थिक स्रोत जुटाईने भएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफले, उपाध्यक्ष भवानी अधिकारी, लगायतले अधिवेशनको शुभकामना दिदै बिभिन्न ज्ञिसासा ब्यक्त गरेका थिए ।
पत्रकार सम्मेलन तथा अन्र्तक्रिया कार्यक्रमको सहजीकरण प्रचार प्रसार समिति सदस्य अनन्तकुमार श्रेष्ठले गर्नुभएको थियो । स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित सिटी हलमा अधिवेशन हुने भएको छ ।