काठमाण्डौं २५ असार । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप फुटबल छनोटमा नेपाल समूह ‘बी मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी मा परेको हो । एएफसीले वेस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।
नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । ताजिकिस्तानमा हुने समूह ‘बी छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।