काठमाडौं , ३० असार । संयुक्त विद्यार्थी संगठनको आन्दोलनपछि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ ।
बुधबार निगमले मूल्यवृद्धिको विषयमा आन्दोलन गर्दै आएका संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य समायोजन गरेको हो ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं इन्धनको मूल्यवृद्धि विरुद्ध केही दिनयता आन्दोलन चर्काएका थिए । बुधबार आन्दोलनका क्रममा विद्यार्थी संगठनले पेट्रोल पम्प नै बन्द गराएका थिए ।
निगमले बुधबार राति १२ बजेदेखि कार्यान्वयन हुनेगरी पेट्रेल, डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपयाँ घटाएको हो ।
निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धनको मूल्य समायोजन भएसँगै अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल र मट्टीतेलको मूल्य १११ पुगेको छ । यसअघि पेट्रोलको मूल्य १२९ थियो भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ थियो ।