आँधीखोला गाउँपालिकाले होम आइसोलेसनमा उपचाररत कोरोना संक्रमितका घर घरमा पुगेर स्वास्थ्यवद्र्धक पोषणतत्व (औषधी) उपलब्ध गराएको छ । आफु चढ्ने सवारी साधनमा औषधी बोकेर संक्रमितका घरमा पालिकाका अध्यक्ष सहितको समूह पुगेको हो ।
यहाँका पंचमूल, चिलाउनेवास, सेतीदोभान र फापरथुमका ८० जना संक्रमितलाई आर्युवेदिक औषधी बितरण गरिएको पालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले जानकारी दिनुभयो । अश्वगन्धा चूर्ण र आमलकी, जेठीमधु, गुड्ची मिश्रणका औषधी सहित स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
‘कोरोनाको औषधी नभएका अवस्थामा चिकित्सकका सल्लाह बमोजिम रोग प्रतिरोधात्मक क्षमता बृद्धिका लागि आर्युर्वेदिक औषधी दिएका हौं ।’ अध्यक्ष पौडेलले भन्नुभयो ‘औषधीसँगै बिरामीको स्वास्थ्य अवस्था बुझ्नुका साथै उनीहरुका परिवारलाई भेटेर खानपानका साथै सरसफाइमा ध्यान दिनका लागि सुझाव दिएका छौं।’
गाउँपालिका अध्यक्ष पौडेल, स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने र आयुर्वेदिक चिकित्सक लगायतको टोलीले होम आइसोलेसनमा रहेका संक्रमितसंग स्वास्थ्य परामर्श गरेका थिए।
अध्यक्ष नै आफना घरमै आएर रोग स्वास्थ्य परामर्श लिनुका साथै प्रतिरोधात्मक तत्व सहित स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि आत्मबल बढेको र कोरोनालाई जित्न सकिन्छ भन्नेमा ढुक्क रहेको संक्रमित ५९ बर्षिया चिलाउनेवासका एक महिलाको भनाई छ ।
आँधीखोला गाउँपालिको वडा नं— १ मा ३६ जना, २ मा २१ जना , ५ मा ४५ जना र वडा नं ६ मा १० जनागरी एक सय १२ जना कोरोना संक्रमित छन् । संक्रमित मध्ये अधिकांश होम आइशोलेसशनमा छन। ती मध्ये ४ जनाको निको भएका छन भने २ जनाको मृत्यु भएको छ।
बढ्दो कोरोनालाई लक्षित गरेर सेतीदोभानमा २० शैयाको अक्सिजन सहितको कोभिड–१९ अस्थायी अस्पताल निर्माणको तयारी भैरहेको निशुल्क स्वास्थ्य उपचार गरिने अध्यक्ष पौडेलले बताउनुभयो । कोरोना संक्रमण ह्वात्तै बढेपछि गाउँपालिकाको वडा नं. ५ स्थित रंगेठाटी बजार र आसपासका क्षेत्रमा शिल गरिएको छ ।