स्याङ्ना ३० साउन । आज साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।
महादेवले हिमालय पुत्री सत्यदेवीलार्ई बोकेर हिँड्दै गर्दा शेष रहेको अङ्ग पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ छायाँ क्षेत्र मन्दिर (छाङ्छाङ्दी) मा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । स्याङ्जाको भीरकोट नगरपालिका–४ को उक्त मन्दिरमा दर्शनका लागि टाढा टाढाबाट दर्शनार्थी आउने गरेका छायाँ क्षेत्र शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो ।
मन्दिरमा भीड हुने गरेका कारण टाढाटाढाका दर्शनार्थीहरु अघिल्लै दिन आएर पनि बिहानै दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बाग्लुङ, पर्वत, तनहुँबाट दर्शनार्थी आउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । वृद्ध अशक्तलाई निःशुल्क तथा अन्यलाई द्रूत सेवावापत रु एक सय लिएर छिटो दर्शन गर्ने व्यवस्था समितिले मिलाएको छ ।
चापाकोट स्थित केलादीधाम, गल्याङ स्थित रामनदीधामस्थित शिवालय, गल्याङ को हुँगीघाट, स्याङ्जा, गुल्मी र पर्वतको सङ्गमस्थल सेतीवेणीमा अवस्थित सेतीवेणी शीला, पुतलीबजार ४ गुणीखोला चम्पागिरी सन्यास आश्रम, पुतलीबजार नगरपालिका १४ लामागे स्थित पञ्चमूखी महादेव, पुतलीबजार नगरपालिका १० स्थित सिद्धवावा गुफा लगायत शिव मन्दिर तथा शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।