काठमाण्डौं ९ माघ । आज राती १२ बजेबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मौन अवधि गएको राति १२ बजेबाट सुरु हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचार प्रसार गर्न नहुने बताउनुभएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसार सामग्री हटाइएको हुनुपर्ने संझाएको छ ।
आयोगले सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचार संहिता विपरीत हुने उल्लेख गरेको छ । आयोगले मतदाता पहिचान गर्न पनि निर्वाचन आधिकृतहरूलाई भनेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ । राष्ट्रिय सभाका १९ सिटका लागि माघ १२ गते मतदान हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार रहेको आयोगले जानकारी दिएको छ ।