स्याङ्जा २६ बैशाख । आज वैशाख कृष्णपक्षको औंसी, मातातीर्थ औशी अर्थात आमासंग भेटघाट गर्ने र मुख हेर्ने दिन ।
ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ । आफ्नी आमालाई तिर्थ बराबर मानेर उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ ।
आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भए ठाउँ पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिने चलन छ ।
आमा नहुनेहरु भने काठमाडौको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, सिदादान गर्ने परम्परा छ । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।