स्याङ्जा २० कात्तिक । यमपञ्चकको आज पाचौ दिन । तिहारको सबैभन्दा महत्वपूर्ण दिन पनि । तिहारको पाँचौं अर्थात् आज भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो।
यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ।
यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने तथा सकेसम्म उपहार दिने प्रचलन रहेको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाइदिने र दक्षिणा तथा उपहार दिने प्रचलन रहेको छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।
यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।