स्याङ्जा २३ भदौ । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन हो । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूलाई दर खुवाउने चलन छ ।
दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परा हो ।
दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ । तीजको दिनभर गाउने र नाच्ने गर्ने भएकाले आजका दिनभर र रातमा पनि उठेर बिभिन्न परिकार खाने प्रचलन हो ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन रहेको धार्मिक किंवदन्ती छ ।