स्याङ्जा २६ कात्तिक । आज तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको छ । यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । तर यस वर्ष कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको हो ।
कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले आज विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ । कुकुर तिहारको दिन कुकुरलाई पूजा गरेर माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ ।
विशेषगरी यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ । कुकुर तिहारको दिनमा कुकुरलाई पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ ।
हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ। मृत्यूपर्यन्त पनि मोक्षकोद्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ । मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ ।
कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ । कुकुर तिहारको दिनमा कुकुरलाई पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ ।