स्याङ्जा १० असोज । आज (सोमबार) देखि २०७९ सालको बडा दशैं सुरु भएको छ ।बडा दशैंको पहिलो दिन आज घर(घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ ।
घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न नामले पुकारेर पूजा आरधना गरिन्छ ।
आजैका दिनबाट नवरात्रि प्रारम्भ भएको छ । आजदेखि विजया दशमीको अघिल्लो दिनसम्मलाई नवरात्री भन्ने गरिन्छ ।
घटस्थापनाको शुभ साहित आज बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले जनाएको छ । सोही समयमा घरघरमा घटस्थापना सहित जमरा राखिंदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि वैदिक विधिपूर्वक शुभ साइतमा जमरा राखि महाकाली महालक्ष्मी, महा सरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गर्ने गरिन्छ । स्याङ्जाका सतौंकोट, नुवाकोट, गह्रौकोट लगायतका मन्दिर तथा पनि बिभिन्न देवी कोटहरुमा पुजाआजा सहित घटस्थापना राख्ने र नवरात्रभर पुजाआराधना गर्ने गरिन्छ।
बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक मकै, गहुँ र जौ रोपिन्छ र सर्वऔषधी, पञ्चरत्न र सप्तमृतिका लगायत विभिन्न साम्रगी राखेर नौ दिनसम्म पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरेको जमरा विजया दशमी अर्थात टीकाको दिन लगाउने गरिन्छ ।
आफ्नो मान्य जनका हातबाट टीका र जमरा लगाउने क्रममा घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलशको पानीले अभिषेक गर्ने चलन रहेको छ । कलशको पानीले अभिषेक गर्दा मानिसको आयु बढ्ने, बुद्धि बढ्ने, मान बढ्ने, र सम्पत्ती हुने धार्मिक विश्वास छ ।
घटस्थापनाका दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूप दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो ।दुर्गा भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ । त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमी टीकाको अघिल्लो दिनसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ ।
नौ दिनसम्म भगवती दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना हुन्छ । गाउँ घरतिर जमरा राख्नु अगाडि नै आफ्नो घरलाई रातो माटो र कमेरोले लिपपोत गरेर सिंगार्ने चलन छ भने शहरमा आधुनिक रङको प्रयोग गरेर घर सिंगारिने गरिन्छ ।
घटस्थापनाको दिनदेखि दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रूपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । दशैंको पूर्णिमासम्म जमरा लगाइने गरिन्छ । पूर्णिमाको दिन बेलुका जमरालाई खोला वा तलाउमा गलेर विर्सजन गरिएपछि दशैं समाप्त गरिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ ।