काठमाण्डौं, १ असार । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गर्नुभएको छ ।
मन्त्रालयले शिक्षा तथा मानव विकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान सुरु गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो ।
सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको हो ।
यसैगरी कक्षा ११ को पठनपाठन भने भदौबाट गर्ने तयारी गरेको छ ।