स्याङ्जा २२ चैत । सफा, स्वच्छ र निश्चल आँधीखोला बनाउने अभियानमा वालिङ्का केही युवा जुटेका छन ।
पुस १६ गते शनिवारदेखि सुरु गरिएको सरसफाई अभियान निरन्तर १४ हप्तासम्म जारी छ । आँधीखोला जोगाऔं र पानी बचाऔं भन्दै युवाहरुको क्रियाशिलता निरन्तर चलिरहने बताइएको छ ।
जल र जीवनको महत्वपूर्ण सम्बन्ध रहेको बुझेका केही ब्यक्तिले अभियान संचालन गरे। उनीहरुले आँधीखोला सरोकार संरक्षण मंच गठन गरी स्वतस्फुर्तरुपमा सरसफाई अभियानलाई निरन्तरता दिदै आएका छन ।
्आँधीखोला स्याङ्जाको पहिचान एवं वरदान दुबै हो। धार्मिक मान्यता अनुरुप श्रवणकुमार र अन्धाअन्धी दहसंग आँधीखोलाको पहिचान जोडीएको छ। अर्कोतर्फ, जिल्लालाई केन्द्रबिन्दु बनाएर बगेकी आँधीखोलाले दुबैतर्फका जमिनलाई सिंचित गरेको छ। मानवीय जीवन, पर्यावरण र जलचर सबैको संरक्षण गर्दै आएको छ आँधीखोलाले ।
आँधीखोला गाउँपालिकाको ‘अन्धाअन्धी दह’ बाट उत्पत्ति भएको खोला पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका हुँदै कालीगण्डकी गाउँपालिकाकोमा पुगेर कालीगण्डकीमा मिसिएको छ ।
तर, केही बर्षयता आँधीखोलामा देखिन थालेको प्रदुषणले जलचर एवं मानवीय जीवनचक्रलाई समेत नकरात्मक प्रभाव पार्न थालेपछि यहाँका जानकार युवा अभियन्ताले आँधीखोला संरक्षणका लागि साप्ताहिक कार्यतालिका तयार पारेर सफाइमा जुटेका हुन । उनीहरुले जसलाई साताको २ घण्टा भनि नियमितरुपमा सरसफाई गर्दै आएका छन ।
करिब ३ महिनाअघिदेखि सुरु गरिएको सरसफाई अभियानमा सबै दल, बर्ग, समूहको उपस्थिती रहेको छ। शनिवार बिहान २ घण्टा सरसफाई कार्यक्रम तोकिएको छ ।
सरसफाई अभियान सुरु भन्दाअघिको खोला र अहिलेको आँधीखोलामा धेरै फरक देखिएको छ। खोलाका दायाँवायाँ थुप्रिएका प्लाष्टिक, झारपात, पतीगंर, काठ, दाउरा, फलाम, कपाल लगायतका बस्तुलाई एकिकृत पारी फोहोर ब्यवस्थापन गरिएको हुन्छ। खोलामा संङ्लो पानी बग्न थालेको छ । खोलाका दायाँवाँया किनारमा सफा देखिएको सफाई अभियन्ता टिकराज गुरुङ् भन्नुहुन्छ ।
‘आँधीखोलालाई फोहोरमैला ब्यवस्थापनको विकल्पका रुपमा लिएकाले समस्या देखिएको हो ।’ उहाले भन्नुभयोे, ‘फोहोर गर्ने पनि हामी, सफा गर्ने पनि हामी। हामीबाट सुरुवात गरिएको अभियानलाई सबैले मनन् गरे आँधीखोला मात्र नभई सबै खोलानाला सफा हुन्छन ्।’
चौधौं हप्ताको अभियानमा वालिङ सुर्कौदी पक्की पुल देखी वालिङ सुकौदी झोलुङ्गे पुल सम्मको क्षेत्रका दायाँबायाँ किनारमा सफाई गरिए । यहाँबाट १४ ट्रिपर फोहोर संकलन गरिएको आँधीखोला संरक्षण सरोकार मञ्चका संयोजक प्रकाश अर्यालले जानकारी दिनुभयो ।
सफाई अभियानमा यहाँका संघसंस्था, सहकारी, बिद्यार्थी, युवा, सुरक्षा निकाय तथा स्थानीयबासीको सहयोग रहदै आएको छ । सफाई अभियानसंगै संरक्षण मंचले जनचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ ।