स्याङ्जा २८ साउन । आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि स्याङ्जा ४ वटा नगरपालिकाले बिद्यालयका पठनपाठनका कार्य बन्द गर्ने सूचित गराएका छन्। ती पालिका अन्र्तगतका सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन्।
केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि पुतलीबजार, भीरकोट र गल्याङ् नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। वालिङ नगरपालिकाले भने यसअघि नै बन्द गरिसकेको छ।
सिद्धार्थ राजमार्गका दाँयाबाँया पर्ने यी पालिकाले बिद्यालय बन्द गराएका हुन। ग्रामिण क्षेत्रमा भन्दा बजार क्षेत्रका पालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढी देखिएको छ। बिद्यार्थीका पढाईमा असर नपर्नेगरी हिउँदे तथा बर्षे बिदामा पढाउनेगरी बिद्यालय बन्द गर्ने निर्णय गरिएको पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार, ‘पुतलीबजारले आइतवारदेखि ५ दिन बन्द गर्ने भएको छ।’
यो रोग संक्रामक भएकाले सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण फैलन सक्ने बताइएको छ। आँखा पाक्ने रोगको संक्रमण रोक्नका विद्यालय बन्द गरिएको गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराईको भनाई छ।
आँखा रातो हुने, चिलाउने, आँखाबाट आसु बगिरने कचेरा तथा चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने सुनिने, आँखा विझाउने, दुख्ने, उज्यालोमा हेर्न कठिन हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराई स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी गर्न र घरमै आरामगरी सुरक्षित भई बस्न सुझाव दिइएको भीरकोट प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
सरुवा रोग भएकाले संक्रमित व्यक्तिको नजिक नजाने, संक्रमित भिडभाडमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामानहरु जस्तै रुमाल, सिरानी तन्ना प्रयोग नगर्ने, तथा जथाभावी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोईसकेपछि राम्रोसंग साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता कार्य गर्न सुझाव दिइएको छ।