स्याङ्जा ६ भदौ । अर्जुनचौपारी गाउँपालिकाले कक्षा १ देखि ५ सम्मका लागि पाठ्यपुस्तक निर्माण गरेको छ ।
आफना पालिकाको राजनीतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, प्राकृतिक सम्पदा लगायतका बारेमा जानकारी गराउने उदेश्यले पालिकाले पाठयपुस्तक तयार बनाएको पालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।
पुस्तकमा यहाँका जातजाती, वनजंगल, खोलानाला, सिमाना, डहरेदेउराली, पञ्चकन्या देवालय, एकानन्द गुफा, दरौं खोला, छिमेकी पालिकाका बारेमा उल्लेख छ ।
पालिकाले कक्षा ४ को पुस्तकमा क्रिक्रेट खेलाडी सन्दिप लामिछानेको परिचयात्मक जीवनी समेत राखेको छ। लामिछाने अर्जुनचौपारी — ५ आरुचौरमा जन्मनु भएको हो ।
यसैगरी, कक्षा ५ मा राजनीतिकर्मी उज्वल थापा बारे लेखिएको छ। उहाहरु दुबैजना अर्जुनचौपारीमै जन्मनु भएको हो । विवेकशील नेपाली समूहका संस्थापक अध्यक्ष थापाको भने निधन भैसकेको छ। थापाको जन्मथलो अर्जुनचौपारी — ६ भेडाबारी हो ।
यही जन्मेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतसम्म आफना नाम र पहिचान बनाउन सफल भएकाले दुबैका संक्षिप्त जीवनी पाठ्यपुस्तकमा राखिएको अध्यक्ष तिवारीको भनाई छ ।
नियमित अध्ययनका पुस्तकसंगै आफना पालिकाको बारेमा जानकारी गराउने उदेश्यले थप पाठ्यपुस्तक निर्माणगरी पढाउन लागेको उपाध्यक्ष सपना गुरुङ्ले भन्नुभयो ।लोकप्रिय खेल क्रिकेट र बैकल्पिक राजनीतिमा प्रवेश गरेका लामिछाने र थापा प्रेरणाका स्रोत बन्न सक्नेछन भन्ने पालिकाको बुझाई छ ।
आगामी दिनमा थप कक्षाका पाठ्यपुस्तक निर्माणका बेला पालिकामा जन्म भई बिशेष योगदान पुरयाउने र छुटपुट भएका बिषयबस्तुलाई समावेश गरिने पनि अध्यक्ष तिवारीले जनाउनुभयो ।
सानो कक्षादेखि नै आफनो भूगोल, रहनसहन, धार्मिक, ऐतिहासिक, सम्प्रदायका बारेमा जानकारी पाउनु सुखद पक्ष रहेको स्थानीय युवा भरत पोखरेलको भनाई छ ।