स्याङ्जा २० असोज । अर्जुनचौपारी गाउँपालिकामा अबदेखी घुम्ति व्यापार गर्दा अनुमति लिनु पर्ने भएको छ । अनुमति नलिइकन जिप, ट्रक, साइकल, पैदल लगायत जुनसुकै तवरबाट घुम्ति व्यापार गर्न पाइदैन ।
अनुमति नलिइ व्यपार गरेमा जरिवाना सहित कारवाही पनि भोग्नु पर्ने अवस्था आउन सक्छ । घुम्ति व्यापारका कारण अधिकांश बजार क्षेत्रका व्यावसायीहरु ठुलो मारमा परेका छन् । यसैलाई मध्यनजर गरेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले अब पालिका भित्रका टोल—टोल देखी गाउँगाउँमा र बजार क्षेत्रमा घुम्ति व्यापार गर्न प्रतिवन्ध लगाएको छ ।
घुम्ति व्यवसाय गर्ने व्यापारीले वडामा वा पालिकाको प्रशासनबाट अनुमति लिएर मात्रै व्यावसाय गर्न अनुरोध गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले सूचना जारी गर्दै पालिका बाहिरबाट आएर कुनै दर्ता कागतजात वा पालिकासगँ अनुमति नलिइ सामानहरु विक्रि वितरण नगर्न अनुरोध गर्नुभएको छ ।
स्थानीय व्यावसायीको गुनासो आउन थालेपछि पालिकाले सो प्रतिवन्ध लगाएको हो । सम्वन्धित वडा वा पालिकाबाट अनुमति लिएर मात्रै सामाग्री विक्रिवितरण गर्न प्रशासकीय अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ‘सूचनाको बर्खिलाप गरिएमा समान जफत हुने र आवश्यक कारवाही हुनेछ ।’ अनुमति नलिइ सामाग्री विक्रिवितरण गरेको देखेमा प्रहरी, वडा कार्यालय वा पालिकामा खबर गरी सहयोग गरिदिन समेत सूचनामा उल्लेख छ ।
अधिकांश ग्रामिण भेगमा भारतीय मुलका व्यापारीहरुले कमसल खालका सामाग्री विक्रिवितरण गर्ने क्रियाकलाप बढेको छ । चाडवाड नजिकिए सगै यस्ता व्यापारीहरुको चहलपहल गाउँघरतिर निकै बढ्न थालेको छ । बजारमा भन्दा सस्तोमा पाइने भन्दै कमसल खालका सामाग्री किन्दा स्थानीय नागरिक ठगिएको महशुष भएकाले सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
अनुमति लिएर मात्रै सामाग्री विक्रिवितरण गर्न अनुरोध गरेको पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । गाउँघरमा अनुमति नलिइ सामाग्री विक्रिवितरण गर्ने यस्ता व्यापारी बढ्न थालेपछि चोरी सगै अन्य सामाजिक अपराधिक क्रियाकलाप बढ्न सक्ने महशुष गरेर यसमा कडाई गर्न थालेका हौं अध्यक्ष तिवारीले भन्नुभयो ।