स्याङजा ८ साउन । स्याङ्जामा अनलाइनबाट नागरिकताका प्रक्रिया सुरु गरेको छ । विगतबाट हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाइनबाट फर्म भरेर नागरिकता पाइने भएको छ ।
गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यहाँ अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै पालिकामा एकैचोटी प्रविधिको प्रयोग शुरु गरिएको हो । गृह मन्त्रालयले जिल्लामा रहेका ९७ वडाका सचिव र वडा अध्यक्षलाई तालिम दिएसँगै साउन १ गतेबाट भने सबै वडामा यो प्रणाली अनिवार्य गरिएको छ ।
यो प्रणालीमा निबेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने र सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपललोड हुनेगरेको बताउनुभयो ।
प्रविधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । विगतमा कागजात नपुग्दा प्रशासन पुगेर फर्कनुपर्ने अवस्था रहेको बताउदै सप्रजिअ पौडलले सिफारिस भरेर नम्बर लिएर आउने कोही खाली नफर्कने बताउनुभयो ।