चितवन १४ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित हुनुभएको छ । ओली भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एमाले निर्वाचन समितिका अनुसार ओलीले एक हजार आठ सय ३७ मत प्राप्ता गर्दा अध्यक्षका अर्का उम्मेदवार रावलले दुई सय २३ मत ल्याउनुभएको छ ।
यस्तै महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्कीम शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा बादल निर्वाचित हुनुभयो । उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पनि पराजित हुनुभएको छ ।
त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित हुनुभयो । सचिवमा उम्मेदवारी दिनु भएका भीम आचार्य र टंकप्रसाद कार्की पनि पराजित हुनुभएको छ ।
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानमा निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन्। सौराहामा आयोजित बन्दसत्रमा उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले सपथ खुवाएका हुन्।
नवनिर्वाचित अध्यक्ष ओलीले सपथ खाएलगत्तै निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सपथ खुवाएका थिए। सपथ खाएसँगै एमालेको दसौं राष्ट्रिय महाधिवेशन सकिएको छ। चितवनको सौराहामा आयोजित महाधिवेशनले १७ बुँदे घोषणापत्र समेत जारी गरेको छ।