काठमाडौं, ५ असार । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकमा नेपाली नागरिकले गरेको बचतमा दोब्बर वृद्धि भएको देखिएको छ ।
गतसाता सार्वजनिक गरिएको वार्षिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२० मा भारतीयले स्वीस बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो ।
स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र संख्या भने उल्लेख गरेको छैन । वित्तीय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ । २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ ।
कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धिकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेका छन् । यद्यपि बैंक भने आफ्नो बचतकर्ताको गोपनियतामा कटिबद्ध छ ।