स्याङ्जा ८ बैशाख । वैशाख ३० गते हुने निर्वाचनका लागि पुतलीबजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम स्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा कार्यालय स्थापना गरिएको हो ।
जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले कार्यालयमा टागेको बोर्ड पढेर स्थापना भएको घोषणा गर्नुभएको छ ।
कार्यालय स्थापनाको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल सहित प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, राष्ट्रिय अनुसंधानका उपरीक्षक वीरेन्द्र मल्ल, नेकपा एमाले सहसचिव राजेन्द्र डुम्रे, नगर अध्यक्ष भरतबहादु गोदार, कांग्रेस नेता सोमनाथ लम्साल, नेकपा (एस) नगर अध्यक्ष श्री गुरुङ, माओवादी केन्द्रका अध्यक्ष मनबहादुर थापा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायत सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यो संगै जिल्लाका ११ वटै पालिकामा पनि बिहीवारै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। सबै पालिकामा निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसक्नु भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुने व्यवस्था रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी रहनेछन ।