स्याङ्जा १६ स्याङ्जा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोग तथा गैरसरकारी संस्था महासंघको समन्वयमा सार्वजनिक शिक्षामा रुपान्तरण सवाल बिषयक अन्र्तक्रिया गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख इश्वरीप्रसाद रेग्मीले शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउनु पर्ने र शिक्षक, अभिभाव, बिद्यार्थी र स्थानीय पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको सृदुढीकरणका लागि नयाँ ढंग, सोच र कार्यदिशाबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अभियानका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पंगेनी, नागरिक समाजका अध्यक्ष एवं प्रधानाध्यापक ओमप्रकाश शर्मा, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा आ आफना धारणा ब्याक्त गर्नुभएको थियो । अभियानका संयोजक गोबिन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिनबहादुर थापाले स्वागत एवं सचिव एकनारायण सापकोटाले संचालन गर्नुभएको थियो ।
यसैबीच, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल स्याङ्जाको अधिबेशनले मीनबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा टिमकुमारी कुमाल, सचिवमा एकनारायण सापकोटा, कोषाध्यक्षमा मेनुका सेन र सदस्यहरुमा साबित्री कार्की, अशोक शर्मा र गोविन्द शर्मा रहनु भएको छ ।