स्याङ्जा २० जेठ । बुटवल पावर कम्पनी (बीपीसी) द्धारा उत्पादित बिद्युतको महसुल रकम बढाएकोमा स्याङ्जाका बिजुली उपभोक्ता सहित राजनीतिक दलका नेतृत्वले आपत्ती जनाएका छन ।
कम्पनीले गरेको महसुल बृद्धि फिर्ता लिनुपर्ने माग गर्दै स्याङ्जामा एक साताअघिदेखि उपभोक्ताले चरणबद्ध आन्दोलन जारी राखेका हुन । बीपीसी आँधीखोला वितरण केन्द्रले बिजुली महसुल वृद्धि गरेपछि स्याङ्जामा दिनुहँुजसो विरोध स्वरुप धर्ना र ध्यानाकर्षण पत्र बुझाउने काम जारी छ ।
अर्कोतर्फ, राजनीतिक दलहरुका नेतृत्व, उपभोक्ता र जिल्लाबाट निर्वाचित सांसद सहितको स्याङ्जाली जम्बो समूहले बिद्युत नियमन आयोग र प्रधानमन्त्रीलाई भेटगरी मूल्यबृद्धि फिर्ताका माग गरेका छन । आयोगले सार्वजनिक सूचना मार्फत विद्युत् महसुल बढाएको जानकारी भएसंगै उपभोक्ता आन्दोलित भएका हुन्।
नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी, राष्टिय स्वतन्त्र पार्टी, राप्रपा, जनमोर्चा, एकिकृत समाजवादी लगायतका दलले समेत एक्येवद्धता जनाउदै संयुक्तरुमा धर्ना र बिरोधका कार्यक्रम गरिरहेका छन ।
लामो समयदेखि मूल्यबृद्धि नगरेको र मर्मत लगायतका काम गर्नुपर्ने जनाउदै वीपीसीले हाल कायम रहेको मूल्यमा ७५ प्रतिशत बृद्धि गर्नेगरी प्रस्ताव आयोगमा गरेको थियो। तर, आयोगले जेठ महिनादेखि लागु गर्नेगरी ४५ प्रतिशत बढाउन सक्नेगरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
गल्याङ्मा मुख्य कार्यालय स्थापनागरी २०४८÷०४९ देखि वीपीसीले आधीखोला जलबिद्युत केन्द्रबाट बिजुली उत्पादन सहित बिक्री गर्दे आएको छ। यहाँबाट हाल ९ दशमलब ४ मेगावाट क्षमताको बिजुली विक्री बितरण हुन्छ ।
केन्द्रबाट उत्पादित बिजुली ६ नगरपालिका सहित ४ गाउँपालिकाबासीले उपभोग गरेका छन्। स्याङ्जा र पाल्पागरी ४० हजार ४१ ग्राहक रहेको केन्द्रले जनाएको छ । स्याङ्जाका वालिङ, गल्याङ चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका सहित पाल्पाको रामपुर नगरपालिका र रम्भादेवी गाउँपालिकाबासीले वीपीसीको बिजुली उपभोग गर्दै आएका छन ।
यसअघि बीपीसीले प्रतियूनिट ६ रुपैंयामा बिजुली बिक्री गर्दै आएको थियो। मुल्यबृद्धिसंगै उपभोक्ताले अब प्रति युनिट ३ रुपैंया थप वृद्धि भएकोे महसुल बुझाउदा १० रुपैया ३० पैसा महसुल लाग्ने भएको छ ।
बृद्धि गर्नेगरी प्रस्तावको जानकारी गराउन वीपीसीले सम्बन्धित क्षेत्रमा सार्वजनिक सुनुवाई नगरि काठमाण्र्डौमा र पुतलीबजारमा सार्वजनिक सुनुवाई गरेकोेमा पनि उपभोक्ता आक्रोशित छन ।