स्याङ्जा २५ बैशाख । वालिङका मेलमिलाप कर्ताहरुका लागि एक दिने मेलमिलापकर्ता सम्बन्धी प्रशिक्षण दिइएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला न्यायाधिश वासुदेव पौडेलले मेलमिलाप पुण्यको काम भएकाले राम्रोसँग निरुपणगरि कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
न्यायाधिश पौडेलले मेलमिलापकर्ता उत्पादनले न्यायीक सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै अधिकांश सामान्य समस्या पालिकामै समाधान हुने बताउनुभयो । न्यायिक कार्य सुत्रवत नहुने भन्दै जिल्ला न्यायाधिश पौडेलले के कस्तो रुपमा आउँछ त्यही अनुरुप निरुपण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा न्यायीक समिति संयोजक एवं उपप्रमुख कविता तिवारीले गतवर्ष पालिकामा भएका न्यायीक गतिबिधी बारे जानकारी गराउदै आर्थिकवर्ष २०८०÷०८१ मा जम्मा ६९ वटा मुद्दा आएको र ३४ वटा नगरपालिकामा र ३२ वटा वडाहरुमा मेलमिलाप कर्ताले समाधान गरेको जानकारी गराउनुभयो । ती मध्ये ३ वटा मुद्दा अदालत पठाइएको र बाँकि नगरपालिका तथा मेलमिलापकर्ताबाट निरुपण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख कृष्ण खाँणले स्थानीयतहले न्यायीक सेवाको काम गर्न पाउनु राम्रो अवसर भएको बताउनुभयो । यो अवसरको सदुपयोग गर्दै नगरप्रमुख खाँणले न्याय नपाए वालिङ जानु भन्ने सन्देश दिने उल्लेख गर्नुभयो ।