स्याङजा १४ असोज । मंसिर ४ मा हुने निर्वाचनका लागि म्यादी प्रहरीमा २० देखि ३० बर्ष उमेर समूहका युवाको लर्को देखिएको छ। यसरी आउनेमा अधिकांश बेरोजगार युवायुवतीको संख्या छ।
प्रहरीले म्यादी प्रहरीका लागि भर्ना खुलाएसंगै अन्य समूहभन्दा युवा पिढीं तेब्बरले बढी देखिएको छ। म्यादी प्रहरी बन्नका लागि २० देखि ५४ बर्ष उमेर, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिक लगायत अन्य केही मापदण्ड तोकिएका छन्।
आसन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा १ हजार ८ सय ७६ जनाले म्यादी प्रहरी बन्ने आकांक्षा सहित फर्म भरेका छन्। ती मध्ये २० देखि ३० बर्ष उमेर समूहका १ हजार ४५८ जना युवा छन्।
फर्म भर्ने मध्ये २० बर्ष उमेर समूहका ६ सय जना, ३० बर्षे उमेरका ८५८ जना, ४० बर्षे उमेरका २५९ जना र ५४ बर्षसम्मका १५९ जना रहेको प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत जानकारी दिनुभयो ।
ती मध्ये ३ सय १० जना महिला र १ हजार ५ सय ६६ जना पुरुष छन्। म्यादी प्रहरीमा साधारण लेखपढ भएका ७ सय ७२ जना, एसएलसी वा सो सरहका ८ सय ७७ जना, जोड १२ का २ सय २४ जना र सो भन्दा माथि अध्ययन गरेका ३ जना आएको कार्यालयले जनाएको छ।
यसरी आउनेमा अधिकांश सर्वसाधारण र यसअघिका म्यादी प्रहरी छन। सर्बसाधारणतर्फ १ हजार १६९ जना र यसअघिका निर्वाचनमा पनि म्यादी भैसकेका ६७१ छन्,। पूर्व सुरक्षाकर्मी (सेना, प्रहरी, शसस्त्रका) गरी ३३ जना पुरुष छन्।
कार्यालयले भने १ हजार ७ सय ९० जना कोटा रहेको जनाएको छ। अहिले भर्ना भएका उम्मेदवारको छनौट प्रक्रिया सुरु भएको छ। पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा बिहानदेखि साँझसम्म आकांक्षी म्यादी प्रहरीको नापजाँच कार्य भैरहेको छ।
आकांक्षीहरुका नतिजा २५ गते सार्वजनिक गरिने र त्यसपछि प्रशिक्षण दिईने प्रहरी निरीक्षक अर्जुन विकले जानकारी दिनुभयो ।
स्याङ्जामा २ संघिय निर्वाचन क्षेत्र र ४ प्रादेशिक निर्वाचन क्षेत्र छन्। यहाँ १९९ मतदान स्थल र ३२० मतदान केन्द्र तोकिएका छन् भने २ लाख ४४ हजार ८९ जना मतदाता छन्।