काठमाण्डौ १ कात्तिक । सरकारले भोली मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । सरकारका प्रवक्ता कार्कीका अनुसार मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदमा नियुक्ति गर्ने निर्णयसमेत गरेको छ ।