स्याङ्जा १० चैत । वालिङ नगरपालिकामा वडा नं. ८ मा संचालित ३ महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा संचालित अर्थात ३९० घण्टे तालिमको समापन गर्दै गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले महिलाहरुलाई व्यवसायिक सिप विकासको तालिम मार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
महिलाहरु आर्थिक रुपमा सक्षम भएमा थप अगाडि बढ्न मद्दत पुग्ने भन्दै अव व्यवसायिक सिप विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । महिला लक्षित बिभिन्न खालका तालिमहरु उपलब्ध गराउन तीनै तहका सरकारले बजेट उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ ५ का अध्यक्ष छवि आले, ११ का अध्यक्ष डण्डपानी पंगेनी, प्रशिक्षार्थी सुमित्रा अधिकारी लगायतले बोल्नुभएको थियो । सिप विकास तालिम केन्द्रका प्रमुख लक्ष्मीभद्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख प्रशिक्षक लिलबहादुर रनपाल र संचालन गिता बस्यालले गर्नुभएको थियो ।
२० जना महिलाहरुको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षक लिलबहादुर रनपाल, सहायक प्रशिक्षक चित्रकुमारी दर्जीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापक गिता रनपालले गर्नुभएको हो ।