काठमाण्डौं १९ साउन । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको कार्यकालको विषयमा अहिले सरकारमा छलफल भइरहेको र प्रतिनिधि सभाका सदस्य, सभामुख, उपसभामुखले चुनावका निम्ति निर्वाचन आयोगमा गएर आफ्नो उम्मेदवारीको मनोनयन गरेपछि स्वतः प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने बताउनुभयो ।
झन्डै १० लाख जना मतदाता थपिने
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ ।
निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि करोड ८७ लाख जना पुग्ने अनुमान गरिएको बताउनुभयो ।
भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताउनुभयो । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा पर्सि २१ गतेसम्म समय निर्धारण गरिएको जानकारी दिनुभयो ।
कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी
निर्वाचन आयोगले आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी गरेको छ । निर्वाचन आयोगले आज बिहीवार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको जानकारी दिनुभएको हो ।
