काठमाडौं ७ साउन। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस आज मनाइँदैछ ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो ।
पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो ।
नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य साथ उहाँले कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।
उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् ।
उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।
राजाले ०१७ साल पुस १ गते प्रजातन्त्र हत्याएपछि पुष्पलालले लामो भूमिगत र निर्वासित जीवन बिताउनुभयो ।
त्यसपछि पुष्पलालले ०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्नुभएको थियो ।
विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।