स्याङ्जा, ३१ जेठ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीलाई पूर्वजनप्रतिनिधिहरुका तर्फबाट ४५ बुँदे टिप्पणी सहित ६ वटा बिषयगत माग सहितका सुझाव दिइएको छ ।
पूर्ववडाअध्यक्ष र सदस्यको समूहले नगरप्रमुखको कार्यकक्षमा पुगेर ४५ बुँदामा समेटिएका समिक्षात्मक टिप्पणी सहित ६ वटा बिषयगत सुझाव सहितको माग पत्र हस्तान्तरण गरेका हुन् । बिभिन्न ६ वटा बिषयगत सुझावमा पनि ८० भन्दा बढी आयोजना तथा योजना समावेश छन् ।
चौध वटा वडा रहेको यस नगरका पूर्वअध्यक्ष सहित पूर्वकार्यपालिका सदस्य र वडा सदस्य सहभागी थिए ।
पुतलीबजार नगरपालिका वडा नं. ३ का पूर्ववडाअध्यक्ष अमृतप्रसाद श्रेष्ठले ८ पृष्ठका सो पत्र प्रमुख रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो्। प्रमुखसंगै उपप्रमुख देवी अर्याल र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई पनि छुट्टाछुट्टै सोही सुझावपत्र प्रदान गरिएको छ ।
सुझावपत्रमा स्थानीय तहको दोश्रो निर्वाचन २०७९ मा निर्वाचित वहालवाला जनप्रतिनिधिका बर्ष दिन पुरा भैसक्दा पनि खासै उपलब्धीमूलक हुन नसकेको आरोप छ । नगरको पूर्वजनप्रतिनिधिले सुरुवात गरेका काम कारवाहीलाई वेवास्ता गरेको, कर्मचारीमाथि विभेद गरेको, योजना संचालनमा उपभोक्ता समिति गठन गरी आफखुशी गर्ने नगरेको, करका दर घटाएर आन्तरिक आय घटाएको, नगर गौरबका योजना समावेश नगरेको, शिक्षा क्षेत्रमा हस्तक्षेप गरेका लगायतका बुँदा समेटिएका छन ्।
नगरपालिकाको विकास र समृद्धीका लागि पूर्वाधार विकास तर्फ, शिक्षा तथा खेलकुदतर्फ, शिक्षा, सामाजिक, आर्थिक र शुसासन सेवागरी २ दर्जन भन्दा बढी सुझाव सहितका मागहरु समावेश गरिएका छन ्।
यसैगरी, सबैको साझा र अपनत्व बनाउनेगरी पालिकाको गतिबिधिमा पूर्वजनप्रतिनिधिले साथ दिने जनाउदै पूर्ववडाअध्यक्ष ओमबहादुर खड्काले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
सो सुझावपत्र ग्रहण गर्दै नगरप्रमुख रेग्मीले भन्नुभयो , ‘पूर्वजनप्रतिनिधिले सुरुवात गर्नुभएका राम्रा, आवश्यक र उपलब्धी मूलक कार्यको निरन्तरता दिदै आगामी दिनमा सबै सरोकारवाला पक्षसंग सहकार्य र छलफल गर्दे अघि बढ्ने छु ।’