स्याङ्जा १६ असोज । पुतलीबजार नगरपालिकाका विपन्न तथा लोपोन्मुख जातीको स्वास्थ्यमा पहुँच बढाउने उदेश्यले नगरपालिकाले उनीहरुलाई निशुल्क स्वास्थ्य विमाको अभियान सुरु गरेको छ ।
नगरभित्रका लोपोन्मुख तथा अल्पसंख्यक समुदायले बार्षिक एक लाख रुपैंया बराबरको निशुल्क स्वास्थ्य बिमाको सुबिधा पाउने भएका छन् ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले शनिवार वडा नं. ३ स्थित कुमाल गाउँमा कुमाल समुदायलाई स्वास्थ्य बिमाको कार्ड प्रदान गर्दै नगरपालिकाले निशुल्क स्वास्थ्य विमाको ब्यवस्था गरेको जानकारी दिनुभयो ।
‘विपन्न तथा लोपोन्मुख अवस्थामा रहेका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने उदेश्यले निशुल्क स्वास्थ्य विमा अभियान संचालनमा ल्याएका हौं।’ प्रमुख रेग्मीले भन्नुभयोे, ‘कार्डलाई सुरक्षित राख्नुहोस्, नगरपालिकाले दिएको सुबिधालाई सदुपयोग गर्नुहोस्।
यसअघि, बार्षिक एक लाखको स्वास्थ्य विमा गर्दा उनीहरुले बुझाउदै आएको ३ हजार ५ सय रुपैंया अव तिर्नु नपर्ने भएको हो। पाँच जना भएको प्रतिपरिवारले एक लाख रुपैंयाको स्वास्थ्य विमा गर्दा ३ हजार ५ सय तिर्नुपर्ने हुन्थ्यो। सो भन्दा बढी परिवार संख्या भए जनही ७ सय रुपैंया थप गर्नुपर्ने हुन्छ। तर, अहिले कुमाल, गन्धर्व, माझी, बोटे समुदायलाई भने सो रकम तिर्नु नपर्र्ने भएको प्रमुख रेग्मीले जनाउनुभयो ।
मंसिर १ गतेदेखि कार्यान्वयमा आउने स्वास्थ्य बिमा अन्र्तगत स्याङ्जा जिल्ला अस्पताल र गण्डकी प्रादेशिक अस्पतालको (घारिपाटन स्थित) आँखा अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र काठमाण्डौंका केही अस्पतालमा समेत पुगेर उपचार गर्न सकिने नगर स्वास्थ अधिकृत भवानीशंकर पोखरेलले जानकारी दिनुभयो ।
नगरपालिकाको ११ औं नगरसभाले ‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय कुमाल, गन्धर्व र माझी जातिका परिवार र सशस्त्र द्धन्द्धका क्रममा वेपत्ता पारिएका ब्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य विमा गर्ने’ नीति पारित गरेको थियो ।
स्वास्थ्य सेवालाई संबिधानको मौलिक हकको रुपमा राखेकाले नगरबासी सबै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन नगरपालिकाले यस्तो अभियान सुरु गरेको नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी कमलकान्त उपाध्याय लगायतको भनाई छ ।
वडा सदस्य सोमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य अधिकृत इश्वर थापाले संचालन गर्नुभएको थियो ।
पुतलीबजार नगरपालिकामा रहेका १४ वडा मध्ये ३, १३, १४ मा कुमाल, गन्धर्व, माझी र बोटे समुदायको बस्ती छ। ती समुदाय स्वास्थ्य लगायत अन्य क्षेत्रका मूलप्रवाहमा ल्याउनका लागि पालिकाले यस्ता अभियान संचालन गरेको नगरप्रमुख तुलसीराम रेग्मी जानकारी दिनुभयो ।