स्याङ्जा १६ पुस । नेपाली कांग्रेसले आज (सोमबार) ४८ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । यसै सन्दर्भमा स्याङ्जामा पनि नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम गरी पार्टी मुख्यालय पुतलीबजार नगरपालिका १ र स्थानीय तहहरुमा समेत मेलमिलाप दिवस मनाउने भएका छन ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता समेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थी लगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।
भारत निर्वासनमा रहँदा कोइराला लगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४८ वर्ष अघि आजकै दिन स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्कनुभएको हो ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
यसै सन्दर्भमा स्याङ्जामा पनि नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम गरी पार्टी मुख्यालय पुतलीबजार नगरपालिका १ र स्थानीय तहहरुमा समेत मेलमिलाप दिवस मनाउने भएका छन ।