काठमाण्डौं २७ मङसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ ।
राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि आज बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ
महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदान गर्ने कांग्रेसले जनाएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् । प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
आजको निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्ने छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।
पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।