काठमाण्डौं २० पुस । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध चयन गरेको छ । हिजो बसेको पहिलो बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गर्नुभएको थियो । सो प्रस्ताबलाइ कमिटीले अनुमोदन गरेको छ । यसअघि नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका थिए । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई हिजो निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराउनुभएको हो ।
अस्ति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो, जसलाइ अनुमोदन गर्दै माओवादी केन्द्रको महाधिवेशन सकिएको थियो । यसैगरी, माओवादी केन्द्रले पदाधिकारी चयन नगरि पहिलो केन्द्रीय कमिटीको बैठक सकाएकोे थियो । माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्छ ।
तर हिजो बसेको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र चयन गरेर सकिएको हो । अर्को बैठक २५ गते बस्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । विधान अनुसार माओवादीमा १५ जना पदाधिकारी हुनेछन् । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ