स्याङ्जा, ७ मंसिर। नेकपा एमालेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो रेकर्ड चापाकोट नगरपालिका भित्रको नभई पूर्णतया झुट र बदनियतपूर्ण भएको भन्दै नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले कारवाही गर्न निवेदन दिएको छ ।
नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव फणिनारायण रेग्मी दीपकले बुधबार निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ क्षेत्र नं २ स्याङ्जामा निवदेन दिँदै नेपाली काँग्रेसलाई बदनाम गर्ने मनसायबाट आएको भिडियो जफत गरी निर्वाचन कसुर र सजाय ऐन अन्तर्गत दोषी उपर कडाभन्दा कडा कारवाही गरी पाऊँ भनी निवेदन दिनुभएको हो ।
मंङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले चापाकोटमा बुध कब्जा गरेको भनी नेकपा एमाले, स्याङ्जाले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको भिडियो रेकर्ड चापाकोट नगरपालिका भित्रको नभई पूर्णतया झुट र बदनियतपूर्ण भएको हुँदा नेकपा एमाले र उक्त दलका उम्मेदवार पद्मा अर्याललाई निर्वाचन ऐन कानुन बमोजिम कारवाही गरी पाऊँ भनी यो निवेदन पेश गर्दछु निवेदनमा भनिएको छ ।
यसैगरी, नेपाली काँग्रेसलाई बदनाम गर्ने मनसायबाट आएको उक्त भिडियो जफत गरी निर्वाचन कसुर र सजाय ऐन अन्तर्गत दोषी उपर कडाभन्दा कडा कारवाही गरी पाऊँ भनी यो निवेदन पेश गर्दछु । साथै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो यसै साथ समावेश गरी पेनड्राइभ मार्फत सम्प्रेषण गरिएको छ ।