स्याङ्जा २९ असोज । आसन्न आम निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन तरुण परिचालन गर्ने सम्बन्धमा तरुण दल स्याङ्जाले क्षेत्र नं. १ मा तरुण भेला सम्पन्न गरेको छ ।
भेलाको उदघाटन गर्दै नेपाली कांग्रेसका सभापति एवं क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु थापाले लोकतान्त्रिक बाम गठबन्धन आज र समृद्ध मुलुक निर्माणका लागि समेत आवश्यक रहेको बताउदै निर्वाचनमा बिजयी गराउनेगरी आजैदेखि जुट्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस र नेकपा माओवादीबीच बिगतदेखि नै साझेदारी हुदै आएको बताउदै संबिधानको रक्षार्थ र केपी ओलीका तानाशाही प्रवृद्धीको अन्त्यका लागि लोकतान्त्रिक बाम गठबन्धन आवश्यक रहेकोमा जोड दिनुभयो । परिवर्तनका संवाहक कांग्रेस र माओवादी भएको ठोकुवा गर्दै नेकपा एमालेको भूमिका ढुलमुले र बिचमै रहने खालको भएको बताउनुभयो ।
‘दशबर्षे सशस्त्र युद्धलाई शान्तिमा अवतरण गराउने पनि नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै थिए।’ उहाले भन्नुभयो, ‘कुनै नेतालाई प्रधानमन्त्री र राष्ट्रपति बन्नका लागि मात्र गठबन्धन भएको होइन। यो कुरा बुझ्न जरुरी छ।’
कार्यक्रममा प्रदेश ख का नेपाली कांग्रेसतर्फका उम्मेदवार बुद्धिबहादुर राना (कुमार), क तर्फका नेकपा माओवादीतर्फका उम्मेदवार अमृता थापा मगरले लोकतान्त्रिक बाम गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जनाउदै जिल्लामा सहकार्य गर्दै निर्वाचन जित्ने कार्यमा अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं स्याङ्जा इन्चार्ज शैलेन्द्र घिमिरेले मुलुकलाई अफ्ठयारो अवस्थामा कांग्रेस र कम्यूनिष्टबीचको सहकार्यले मात्र समस्या समाधान हुदै आएको बताउनुभयो ।
करिब १७ हजार ब्यक्तिले बलिदानीले ल्याएको संबिधान लत्याउदै नेकपा एमालेले खोक्रो राष्ट्रवाद भजाउन थालेपछि बामगठबन्धन टुटेको घिमिरेले बताउनुभयो । संबिधानको रक्षाका निम्ति र समृद्ध मुलुक निर्माणका निम्ति लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन जरुरी छ ।
कार्यक्रममा तरुण दल क्षेत्र नं. १ का सभापति कुमबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । तरुण दलका कार्यवाहक अध्यक्ष शिवसंसार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रविन केसीले स्वागत एवं सचिव फणिन्द्र पौडेलले संचालन गर्नुभएको थियो ।