स्याङ्जा ८ कात्तिक । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिसँगै लुकेर रहेका प्रतिभा अगाडि बढाउन आवश्यक पहल गर्ने बताउनु भएको छ।
वालिङ नगरपालिका ८ स्थित भीमटारी युवा क्लबले भीमटारी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा आयोजना गरेको प्रथम शिव स्मृति स्याङ्जा जिल्लास्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिताको समापनमा विजयी खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले नयाँ खेलाडीको प्रतिभा प्रष्फुटन गर्न र अग्रज खेलाडीलाई खेल क्षेत्रमै रहिरहने वातावरण सिर्जना गर्न व्यवसायिकतासँगै जोड्नुपर्ने बताउनुभयो ।
२ दिने प्रतियोगितामा ‘ए’ र ‘सी’ वर्गका ६० टिम सहभागी भएको खेल संयोजक सचिन मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा ‘ए’ वर्गतर्फ प्रथम बुद्धि राना र महेश राना आमडाली, द्वितीय दीपक राना र प्रकाश गुरुङ स्वरेक महापुर, तृतीय आयोजकका सचिन मल्ल र सुवास रेग्मी र ‘सी’ वर्गतर्फ प्रथम नवीन र हरि गल्याङ, द्वितीय विष्णु र कृष्ण स्वरेक महापुर, तृतीय याम र चुरामणि भुम्रे हुनुहुन्थ्यो ।
विजयीलाई मन्त्री गुरुङ सहित प्रदेश सांसद मल्ल र नगर प्रमुख खाँणले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो । ‘ए’ र ‘सी’ दुवै वर्गबाट प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमश ः २० हजार, १२ हजार र ५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको भीमटारी युवा क्लब अध्यक्ष सूर्य रेग्मीले जानकारी दिनुभयो ।