स्याङ्जा ५ माघ । वालिङ्को खेलमैदानमा फुटवल प्रतियोगिता चलिरहेकै मैदानमा हेलिकप्टर अवतरण गरेपछि स्थानीयले हातपात गरेका छन्।
विगत ५ दिनदेखि जारी प्रथम वालिङ् गोल्ड कप प्रतियोगिता अन्र्तगत बिहीवार अपरान्ह सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो।
सोही समयमा प्रभु हेलिकोप्टर ल्याण्ड गरेपछि क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको बताइएको छ। चार्टर गरेर ल्याइएको हेलिकोप्टरमा यहाँका केही युवाहरु आक्रोशित बन्दै हातपात गरेका हुन्।
वालिङ नगरपालिकाका ४ जना युवाले सो हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ ल्याएका हुन्। हेलिकोप्टर ल्यान्डपछि मैदानका खेलाडी र दर्शकहरुको भागाभाग भएको छ।
अनुमति बिना खेल मैदानमा ल्याण्ड गरिएकोे हेलिकोप्टरका बारेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको र थप अनुसन्धान सुरु गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
वलिङ्मा पुस ३० गतेदेखि वालिङ् गोल्डकप प्रतियोगिता संचालन भैरहेको छ।