सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कोरोना महामारी नियन्त्रण, उपचारमा उत्कृष्टता, अस्पतालहरूको स्तरोन्नति र स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नु भएको हो ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तीयतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रहेको छ । नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट बक्तव्य सार्वजनिक भएको सरकारको दाबी छ ।
बजेटको प्रभावकारी कार्यान्वयनबाट कोभिड–१९ को महामारी र सम्भावित खाद्य सङ्कटबाट कर्णालीबासीको जीवन रक्षा, श्रममूलक रोजगारीका अवसर सिर्जना, उत्पादन तथा उत्पादकत्वमा वृद्धि, जीवनोपयोगी शिक्षाको उत्थान, दीगो पूर्वाधार विकास, शान्ति सुरक्षा, सुशासन र सेवाप्रवाहमा सुधार लगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।