स्याङ्जा १५ पुस । आज पुस १५ एवम तमू ल्होसार । आजका दिनलाई नेपालभर विशेष दिनका रुपमा मनाउने गरिन्छ । आजकै दिन तमु ल्होसार पर्छ । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ । ल्होसार भनेको नयाँ वर्ष हो ।
यो गुरुङ जातिको महान चाड हो । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ती भएको मानिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो दिनदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । यो दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।
अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन् । तमूहरुको वर्ग चक्र अनुसार मुप्री ल्हो (चील वर्ग) लाई स्वागत र ही ल्हो (बिरालो वर्ग) विदाई गर्दै दिवाभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै स्याङ्जामा पनि मनाउने तयारी भइरहेको जनाएका छन् । ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भई मीठामीठा परिकार खाने प्रचलनसमेत रहेको छ ।
यसैगरी, पुस १५ अन्य समुदायमा पनि विशेष महत्व हुन्छ । पुसे १५ मा खाजा खाने प्रचलन गरेको छ । घरपरिवारमा मिठो मसिनो खाने, साथीभाइसंग वनभोज जाने प्रचलन देखिन्छ । पहाडी समुदायमा पुसे १५ लाई पर्वकै रूपमा लिने गरिएको पाइन्छ । यस्ता पर्वहरूले आम नेपालीलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्छन् । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भन्ने मान्यताले छ । तमू ल्होसारको अवसर पारेर सरकारले आज सार्वजनिक बिदा दिएको छ ।