स्याङ्जा, १२ मंसिर । मतगणनाको विवादले लामो समय देखि बन्द रहेको वालिङ नगरपालिका आजबाट आंशिक रुपमा खुल्ने भएको छ ।
नगरपालिकाले अत्यावश्यक सेवा सूचारु गर्ने तयारी गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । प्रमुख खाँणका अनुशार नगरपालिकाको पछाडि पट्टिको गेटबाट अत्यावश्यक सेवा सूचारु गरिनेछ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ को कार्यालय रहेको वालिङ नगरपालिका मंसिर १ गते देखि बन्द रहेको छ ।
नगरपालिका बन्द रहेपछि सेवाग्राही मर्कामा पर्दै आएकाछन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदशसभा सदस्य निर्वाचन अन्तर्गत चापाकोटमा भएको मतदानका बिषयमा विवाद हुँदा मतगणा सूचारु हुन सकेको छैन ।
नगरपालिकाका गेट नजिकै नेपाली कांग्रेस र नेकपा (एमाले)ले धर्ना र नारावाजी गर्दै आएकाछन् जसका कारण सो क्षेत्रको सूरक्षा व्यवस्था समेत कडा पारिएको छ । नगरपालिकाका सय भन्दा कर्मचारीहरु नगरपालिका गेट नजिकै एक सहकारीमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गरेर घर जाने गरेका छन् ।
नगरपालिका लामो समय बन्धक बनेको भन्दै वालिङका नागरिकले सामाजिक सञ्जाल मार्फत विरोध गर्दै आएपछि नगरपालिकाले भोलीदेखि कार्यालय संचालन गर्ने सूचना प्रकाशित गरेको हो ।