स्याङ्जा २३ बैशाख । विरुवा गाउँपालिका ७ कुमेरदुङका ७४ बर्षिया रामसरी गुरुङ्को आगोमा जलेर मृत्यु भयो। यही बैशाख ६ गते दिउँसो लागेको आगो निभाउने क्रममा आगोमा जलेर घटनास्थलमै ज्यान गयो।
कोदोको बीउ राख्नका लागि बारिमा सुकेका झारपात, पतिङ्गर जलाउने क्रममा आगो सल्केर जंगलसम्मपुगेपछि सोही आगो निभाउने क्रममा जलेर उहाको मृत्यु भएको प्रहरीको भनाई छ ।
पुतलीबजार नगरपालिका ११ करेन्डाँडामा लागेको आगलागीका कारण गीता जिटी गम्भीर घाईते हुनुभएको छ । उहाको घर, पसल लगायत घरपालुवा जनाबर समेत जलेर मरेका छन्। उनको काठमाण्डौ स्थित बर्निङ हस्पिटलमा उपचार भैरहेको छ ।
आगलागीका कारण यही १९ गते करेन्डाडा आसपासका ३५ हेक्टर क्षेत्रफल जमिनमा आगजनी भएको छ ।
सुन्तलाको पकेट वडा रहेकाले त्यहाँका हजारौं सुन्तलाका बिरुवा जलेर नष्ट भएका छन ।
खेतबारीमा सुकेका पातपतींगर (झारपात) जलाउने क्रममा आगजनी भएको र जंगल हुदै बस्तीसम्म आगलागी भएर करोडौ मूल्य बराबरको धनजनको क्षति पुगेको स्थानीयको भनाई छ ।
यसैगरी, पुतलीबजार नगरपालिका १ गैरीबजारमा कुँडो पकाउने क्रममा आगो अनियन्त्रितभई गोठ पूर्णरुपमा जलेको छ। घर नजिकै रहेको २ तले घरमा समेत आगजनी भएको छ। आगोका कारण मानवीय क्षति नभएपनि धनजनको ठूलो क्षति पुगेको छ ।
यसबर्ष स्याङ्जामा अत्याधिक आगलागी भएका छन्। अघिकांश घटना कँुडो पकाउँदा र खेतबारीमा सुकेका झारपात (पातपतींगर) जलाउने क्रममा भएका छन ।
आगलागीका कारण एक जनाको ज्यान गएको छ । चार जना घाईते छन् । करेन्डाँडाकी ४० का गीता जिटि, कालीगण्डकी गाउँपालिका ५ का ५९ वर्षीय राधिका न्यौपाने र छोरी नाता पर्ने रिमा न्यौपाने, पुतलीबजार नगरपालिका १३ का ७२ वर्षीय डासी कोइराला हुन । उनीहरु सबै आगो निभाउने क्रममा घाइते भएका हुन ।
खेतबारीमा रहेका झाडी तथा पातपतिङ्गरहरुमा आगो लगाउँदा त्यहीँबाट फैलिएर अधिकांश आगलागी भएका छन्। आगलागीकै कारण स्याङ्जाका डेढ दर्जन घर र त्यो भन्दा बढी गोठ जलेका छन् । आगलागीका कारण भैसी, कुखुरा, मौरी सहितका घार, कुखुराका खोर, खानेपानीका पाईप, वनजंगल तथा हजारौंका संख्यामा सुन्तलाका बिरुवा जल्नुका साथै एउटा गोरु समेत हराएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
आगलागीका कारण यसबर्ष स्याङ्जाका १ सय १३ स्थानका १ हजार ८०८ हेक्टर क्षेत्रफलमा आगजनी भएको बन अधिकृत अमरबहादुर पराजुलीले जानकारी दिनुभयो ।