स्याङ्जा १ पुस । आँधीखोलाका माछा तथा जलचर संरक्षणका लागि भन्दै माछाका भुरा छाडिएका छन्। गल्याङ्स्थित आँधीखोला जलविद्युत उत्पादन केन्द्रको ड्याममा झण्डै २ लाख ८० हजार माछाका भुरा छाडिएका हुन्।
वर्षेनि लाखौंका संख्यामा स्थानीय माछाका भुरा यहाँका कालीगण्डकी तथा आँधीखोलामा छाड्ने गरिन्छ।
नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’जलविद्युत उत्पादन केन्द्र मत्य ह्याचरीको सहयोगमा यसबर्ष पनि विभिन्न प्रजातिका माछाका भुरा छाडिएका हुन्।
गल्याङ् नगरपालिका ३ स्थित बुटवल पावर कम्पनीको ड्याममा गर्दि, हाडे, ठेड जातका माछाका भुरा छाडिएको छन्। ड्याममा हाडे र ठेड एकरएक लाख र गर्दि ८० हजारगरी २ लाख ८० हजार माछाका भुरा छाडिएको कम्पनी प्रमुखले जानकारी दिनुभयो।
गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले आँधीखोलामा माछाहरु लोप हुँदै गएको भन्दै माछा संरक्षण र माछा मारेर जिविकोपार्जन गर्ने वोटे र माझी समुदायलाई लक्षित गर्दै माछा छाड्ने गरिएको बताउनुभयो । उहाले भन्नुभयो, माछा मारेर जीविकोपार्जन गर्दै आएका समुदायका रोजगारका लागि नगरपालिकाले जलचर संरक्षणमा सहयोग गर्नेछ ।
सोही कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने, वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, आँधीखोला जलविद्युत केन्द्रका प्रमुख डोलप्रसाद खरेल लगायतले जलचर संरक्षणमा स्थानीय सरकारले ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र मत्स्य हेचरीका सिभिल फोरम्यान डोलराज न्यौपानेले माछाले पर्यावरणलाई समेत सन्तुलन राख्ने भएकाले सबैले जलचरको संरक्षणमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।
यसैगरीरु नेपाल विद्युत प्राधिकरण कालीगण्डकी जल विद्युत केन्द्र प्रमुख अनन्त उप्रेती, जल विद्युत केन्द्रका बरिष्ठ सहायक ठाकुरप्रसाद पाण्डेले जलचरको महत्व र आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियो।