स्याङ्जा, २ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा आइतवार यहाँ आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा बिबिध कार्यक्रमगरी मनाइएको छ ।
अन्र्तक्रिया एवं जनचेतनामूलक कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले परिवार, समाज, राज्यको सकारात्मक साथ र सहयोग भएका आत्महत्या रोकथाम गर्न सकिने बताउनुभयो ।
रोकथामका लागि ब्यवहारिक र कानूनी परामर्श दुबै आवश्यक पर्छ उहाले भन्नुभयो । जनचेतना र बिभिन्न संचार माध्यमबाट सबैलाई सूसूचित गराउन र अनुभव आदानप्रदान गरेमा पनि आत्महत्या जस्ता कार्यलाई रोकथाम गर्न सकिने उहाको भनाई छ ।
कार्यक्रममा वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, सामुदायिक सेवा केन्द्र प्रगतीनगरका सचिव यज्ञप्रसाद पौडेल, जिल्ला अस्पताल प्रमुख मेडिकल सुपरिटेन्ड्न्ट डा. रमेश आचार्य लगायतले समुदाय र प्रहरी हातेमालो गर्दे अघि बढ्नु पर्ने बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक रविन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक पदमराज थापाले स्वागत एवं प्रहरी निरीक्षक अर्जुन विकले संचालन गर्नुभएको थियो ।
यसैगरी, प्रहरी कार्यालय स्याङ्जामा सबैभन्दा बढी आत्महत्या सम्बन्धी मुद्धा रहेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
उहाका अनुसार, आर्थिक बर्ष २०७६÷०७७ मा ६७ जनाले आत्महत्या भएका छन्। ती मध्ये २२ महिला र ४५ पुरुष छन्।
आर्थिक बर्ष २०७७÷०७८ मा ३३ महिला र ५४ पुरुषगरी ८७ जनाले आतमहत्या गरे भने आर्थिक बर्ष २०७८÷०७९ मा ७६ जनामा २६ महिला र ५० पुरुषले आत्महत्या गरेका छन् ।
चालु आर्थिक बर्षको २ महिनाभित्र पनि १४ जनाले आत्महत्या गरेको छन्। ती मध्ये ७ जना महिला र ७ पुरुष छन्।
आत्महत्या गर्नुका कारणका नैराश्यता, गरिवी, दिर्घरोगी, पारिवारिक बेमेल, मानसिक रोग, गोप्य सम्बन्ध उजागर, आर्थिक हिनामिना लगायत अनुसन्धानका क्रममा देखिएको प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए।
हरेक बर्ष सेप्टेम्बर १० मा मनाइएने विश्व आत्महत्या रोकथाम दिवस यसबर्ष वेलायतका महारानी एलिजावेथको निधनका कारण रोकिएपछि गृहमन्त्रालयले आज (आइतवार) का लागि मनाउने निर्देशन भए बमोजिम यहाँ मनाइएको प्रहरीले जनाएको छ।
दिवसमा जनपद, सशस्त्र, सेना, नागरिक समाज, बिद्यार्थी, शिक्षक, जनप्रतिनिधी, ब्यवसायी, कार्यालय प्रमुख सहितको समूहले सदरमुकामका मुख्य बजारको परिक्रमा गरेर सिटीहलमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।